जीवविज्ञानबाट गणित हटाएपछि देशभरका शिक्षक आन्दोलित

by समतल अनलाइन

काठमाडौं। कक्षा ११ र १२ को जीवविज्ञान समूहमा गणित विषय नरहनेगरी पाठ्यक्रम परिवर्तन भएपछि सम्बन्धित विषयका शिक्षकले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् ।

पाठ्यक्रम विकास केन्द्र सानोठिमीले नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन हुनेगरी तयार पारेको राष्ट्रिय पाठ्यक्रम जीवविज्ञान समूहका विद्यार्थीले गणित विषय अध्ययन गर्नुनपर्ने गरी तयार पारिएको छ । प्रारुप सरकारले स्वीकृत गरिसकेको छ ।

शिक्षामन्त्रीस्तरीय बैठकबाट भदौ २० गते पारित गरिएको प्रारुपमा कक्षा ११ बाटै जीवविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई गणित विषय अनिवार्य छैन । पुरानो पाठ्यक्रमअनुसार जीवविज्ञानका विद्यार्थीले कक्षा ११ मा गणित विषय अनिवार्य अध्ययन गर्नुपथ्र्यो ।

नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभाग, त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, उमन अफ नेपाल इन म्याथेमेटिक्स साइन्स तथा स्कुल स्ट्रक्चर संघले संयुक्त विज्ञप्ति प्रकाशन गरी सरकारले जीवविज्ञान समूहबाट गणित विषय हटाए स्कुलकलेज ठप्प पारेर आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नयाँ पाठ्यक्रम प्रारुपअनुसार कक्षा ११ र १२ मा जीवविज्ञानका विद्यार्थीले गणित अनिवार्य विषयका रुपमा अध्ययन गर्न पाउने छैनन् । प्रारुपमा गणितलाई ‘ननक्रेडिट’ (लब्धांकपत्रमा अंक नजोडिने गरी) विषयका रुपमा राखिएको छ ।

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा चार समूह कायम गरिएको छ, जसमा भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान र गणित रहेका छन् । ११ र १२ कक्षामा विद्यार्थीले कुल ६ विषय अध्ययन गर्नुपर्ने छ, जसमा तीन अनिवार्य र तीन ऐच्छिक विषय छन् ।

नयाँ पाठ्यक्रम संरचना अनुसार कक्षा ११ र १२ दुवैमा जीवविज्ञान समूहका विद्यार्थीले अंग्रेजी, नेपाली र सामाजिक विषय अनिवार्य अध्ययन गर्नुपर्ने छ भने ऐच्छिक विषयमा जीवविज्ञान, भौतिकशास्त्र र रशासयनशास्त्र पढ्नुपर्छ । विद्यार्थीले चाहेमा गणित अध्ययन गर्न सक्छ तर त्यो ननक्रेडिट हुने केन्द्रले जनाएको छ । नागरिक दैनिकबाट

 

 
 
  
 

You may also like