तीनवर्षमा काठमाडौंका सबै तार ‘अन्डरग्राउन्ड’ भइसक्छ

by समतल अनलाइन

तीनवर्षमा काठमाडौंका सबै तार ‘अन्डरग्राउन्ड’ भइसक्छ

देशमा अँध्यारो छाएका बेलामा कुनै पनि निकायले आफ्नो दायित्व पूरा गर्न सकेमा देशमा आशा जगाउन सकिन्छ र उज्यालो ल्याउन सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिन सफल पात्रको नाम हो–कुलमान घिसिङ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ सरकारी निकायमा रहेका केही लोकप्रिय पात्रमा पर्ने व्यक्ति पनि हुन् । उनले ३ वर्ष ४ महिनाअघि प्राधिकरणको नेतृत्व सम्हाल्न आइपुग्दा देश झण्डै १९ घण्टा लोडसेडिङको चक्रब्युहमा थियो । ‘विद्युत प्राधिकरण भनेको विद्युत दिने कार्यालय होइन लोडसेडिङ गराउने कार्यालय हो’ भन्ने खालको परिचय जनमानसमा बनेको थियो ।

तर, उनले अहिले प्राधिकरण लोडसेडिङ गराउने होइन विद्युत दिने कार्यालय नै हो भन्ने कुरा कामले प्रमाणित गरिसकेका छन् । प्राधिकरणका प्रमुख घिसिङ बुधबार एउटा कार्यक्रममा भाग लिने सिलसिलामा केही घण्टाका लागि पोखरामा थिए । सोही क्रममा उनले

प्रस्तुत छ, बाह्रखरीका लेखनाथ अधिकारीले प्रबन्ध निर्देशक घिसिङसँग गरेको कुराकानीका मुख्य अंशहरुः

नेपाल विद्युत प्राधिकरण अहिले के गर्दैछ ?

अहिले हामीले सहरी क्षेत्रमा लोड व्यवस्थापनको कार्यमा ध्यान दिइरहेका छौं । थुप्रै सरचना अपडेट गर्नुपर्ने अवस्था रहेको छ । वितरण भएको अवस्थामा अब विद्युत खपत बढाउने काम कसरी अघि बढाउने भन्ने बारेमा सोचिरहेका छौं । विद्युतको नियमितता बढाउन लागिरहेका छौं ।

जाडोको समयमा ओभरलोडिङ्गको अवस्था छ । पानी परेपछि पनि कहिलेकाँही समस्या पर्ने गरेको छ । सहरी क्षेत्रमा वितरण प्रणालीको गुणस्तर बढाउने काम गरिरहेका छौं । राजधानीमा १ हजार मेगावाटसम्मको विद्युत खपतका लागि वितरण प्रणालीको क्षमता बृद्धि गर्न लागिरहेका छौं ।

कतिपय औधोगिक क्षेत्रबाटै १०, २० वा १०० मेगावाटसम्मको विद्युत माग भइरहेको छ । हामी वितरण क्षमता बृद्धि गर्न लागिपरेका छौं । जस्तो वीरगन्ज क्षेत्रमा १० वा २० मेगावट विद्युतसमेत उपलब्ध गराउन हाम्रो वितरण प्रणाली कमजोर भएकाले त्यसलाई अपग्रेड गर्नुपर्ने अवस्था छ । यो खालको समस्या सहरी र ग्रामीण क्षेत्र दुवैतर्फ छ । कतिपय स्थानमा सडकबाट पनि ट्रान्सफर तान्न सकिने अवस्था छैन र जग्गाको प्रयोग गर्न पनि अप्ठेरो छ ।

त्यस्ता केही चुनौती छन् त्यसलाई सामना गर्न हामीले राजधानीमा अन्डरग्राउन्ड केबलको काम थालिसकेका छौं । यो काम आगामी तीन वर्षसम्ममा पूरा गर्ने लक्ष्य छ । खपतको लागि उपयुक्त व्यवस्थापन बनाएनौँ भने हाम्रो आगामी उत्पादन खेर जान सक्छ । देशैभरी विद्युत ग्रीड पुर्‍याउने हाम्रो लक्ष्य छ । यो वर्ष ४० जिल्लामा ग्रीड पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको छ ।

आगामी तीनवर्षमा चाहिं देशैभरी यो काम पूरा गरिनेछ । औधोगिक क्षेत्रमा विद्युतको माग बढेको छ । पुरानो संरचनाले धान्न सक्ने अवस्था नभएकोले नयाँ बनाउनुपर्ने छ । अप्ठेरो ठाउँमा सोलारबाट विद्युत वितरण गर्नेसमेत लक्ष्य छ ।

पछिल्लो समय राजधानीमा बारम्बार विद्युत जान थालेपछि ‘अघोषित लोडसेडिङ’ त सुरु भएको होइन भनेर आशंका गर्न थालिएको पाइएको छ । के भएको हो यो ?

यो लोडसेडिङ होइन । वितरण प्रणालीको समस्या हो । एकदमै चिसो बढेपछि जनताले अलि बढी खपत गर्न खोज्दा स्थानीय स्तरमा नै त्यस्तो समस्या भएको देखिएको छ । जस्तो १०० केभीएको लाइन भएको क्षेत्रमा त्योभन्दा बढी माग भयो भने धान्न सक्दैन । त्यसले गर्दा ‘रिप्लेस’ वा ‘सिफ्ट गर्नुप¥यो ।

एकपटक वानेश्वरमा पड्केर समस्या भयो । त्यस्तै, थोरै क्षमताको एम्पायर भएको स्थानमा एसी राखियो भने बढी क्षमता चाहिन्छ ।

त्यस्तो अवस्थमा जल्न सक्छ । त्यसले गर्दा घरमा समस्या हुँदा पनि त्यस्तो अवस्था आएको हो । त्यो समस्यालाई अहिले हामीले सम्बोधन गरिसकेका छौं ।

विद्युतको मात्रा कम भएर होइन ?

त्यस्तो होइन । काठमाडौंमा सडक पिच गर्नेलगायतका काम भइरहन्छन् । त्यस्तो बेलामा कहिलेकाँही विद्युत बन्द भइरहेको हुन्छ । सूचना दिएका पनि छौं तर कहिलेकाही सूचना सर्वसाधारणकहाँ पुग्न सकिरहेको हुँदैन ।

यसले गर्दा समस्या होकि जस्तो देखिन्छ । तर, त्यस्तो भएको छैन । हाम्रा कर्मचारी साथीहरु रातभर खटिइरहनु भएको छ । हामीकहाँ हिजोकै प्रणालीअनुसार काम भइरहेको छ । २४ सै घण्टा विद्युत उपलब्ध गराउनका लागि हामीलाई कहिलेकाँही पुरानो प्रणालीले अप्ठेरो पारेको हुन सक्छ ।

अहिले हामी २–३ हजार मेगावट पावर धान्न सक्ने क्षमता बृद्धि गर्न लागेका छौं ।

यसको लागि अन्डरग्राउन्ड प्रणालीबाट अघि बढ्न लागेका छौं । विभिन्न क्षेत्रबाट राजधानी भित्रिने विद्युतको कन्डक्टरको साइज मिलेन भने समस्या पर्न सक्छ । हुनत अहिलेलाई समस्या छैन । तर, पछि समस्या हुन सक्छ । एउटा ठूलो समस्या भनेको मातातीर्थदेखि हरिसिद्धिसम्मको क्षेत्रमा विगत १० वर्षदेखि उत्पन्न भइरहेको छ ।

सो क्षेत्रमा किन त्यस्तो समस्या भइरहेको ?

त्यहाँ स्थानीय मानिसहरुले लाइन ल्याउन दिइरहनु भएको छैन । पोलहरु गाड्दा पनि उखेल्ने काम भइरहेको छ । जग्गा पनि चल्तीको भाउमा नदिने र प्रसारण लाइन ल्याउनको लागि समस्याको अवस्था विगत १० वर्षदेखि नै छ ।

स्थानीय जनप्रतिनिधिसँग कुरा गर्नुभएको छैन ?

कुरा गरेर पनि भएन । प्रधानमन्त्री तहसम्म कुरा भएका छन् । तर, अहिलेसम्म समस्या समाधान भएन । आफ्नो घरको छेऊमा ट्रान्समिटर राख्न नदिने तर, बत्ती जाँदा गाली गर्ने काम भइरहेको छ । पहिला १९ घण्टासम्म पनि विद्युत गयो तर अहिले केही सेकेन्ड जाँदा पनि गुनासो आइरहेको पाइन्छ ।

अन्डरग्राउन्ड केबलको काम काठमाडौंमा मात्रै हो ?

काठमाडौंबाहेक पोखरामा पनि गर्ने योजना छ । पोखराको लागि जाइकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

काठमाडौंमा कहिलेसम्ममा यो काम पूरा होला ?

काठमाडौंमा केबल अन्डरग्राउन्ड गर्न तीनवर्ष जति लाग्छ । हामीले मात्रै पनि अन्डरग्राउन्ड गरेर भएन । अन्य विभिन्न सञ्चार सम्बन्धी निकायले पनि तार बाहिर प्रयोग गरिरहेका छन् । उनीहरुले पनि विद्युत प्राधिकरणसँगै काम अघि बढाउनेपर्ने अवस्था आउनेछ ।

अन्डरग्राउन्डको सिलसिला चलुन्जेल बत्ती जाने क्रम रहिरहने हो ?

त्यस्तो त हुँदैन ।

अबको तीनवर्षमा उसो भए राजधानीबाट विद्युतको पोल चाहिँ विस्थापित हुने हो ?

मुख्य पोल विस्थापित हुन्छन् । तर, भित्रि भागमा नहोला । अन्य कम्युनिकेसन केबुल पनि छन् उहाँहरुले पनि गर्नुपर्ने हुन्छ ।

समग्रमा भन्नुपर्दा अहिले नेपालमा विद्युतको माग र आपूर्तिको अवस्था के हो ?

अहिले १,३५० मेगावाटभन्दा बढी जेनेरेसन भइरहेको छ । पिकअपमा त्यति नै डिमान्ड पनि छ । जडित क्षमता १४०० मेगावाट पुग्न लागेको छ । वर्षायाममा आयात गर्ने व्यवस्था छैन । वर्षा याममा बढी नै हुन्छ । हिउँदयाममा ४० प्रतिशत कम हुन्छ । ७०० वा ८०० मेगावाट मात्रै वितरण गर्न सकेका छौं ।

त्यसका लागि २५० देखि ३०० मेगावाटसम्म आयात गर्नुपर्छ । अर्को वर्ष १००० मेगावाटसम्म थप आएपछि हामीलाई खपत बढाउनुपर्ने अवस्था आउँछ ।

आगामी वर्ष थपिने भनेको कुन महिनासम्ममा थपिन्छ ?

आउँदो असारसम्ममा थपिने अपेक्षा गरेका छौं ।

हामीलाई बढी भएको विद्युत निर्यात गर्न प्रसारण लाइन तयार छ त ?

चार्ज भइरहेको छ । ४०० केभी लाइन १ महिनाभित्र नै चार्ज गर्छौं ।

विद्युत महसुल नबुझाउने पनि थुप्रै छन् भन्ने सुनिएको छ खास के हो ?

व्यक्तिगत रुपमा त्यस्तो समस्या छैन । व्यक्तिगत रुपमा नतिर्दा लाइन नै काटिन्छ । तर, कतिपय उद्योगका तर्फबाट महसुल तिरिएको छैन । त्यस्तो महसुल करिब १० अर्ब उठाउन बाँकी छ । उनीहरुका हकमा हामीले ताकेता गरेका छौं । कतिपयको हकमा भने उद्योग मन्त्रालय र प्रधानमन्त्री तहबाटै पनि केही समय होल्ड गर्न र लाइन नकाट्न भनिएअनुसार सोही बमोजिम भइरहेको छ ।

तर, अदालतको हकमा कुरा गर्दा यो प्रसंगमा महसुल उठाउन हामीलाई नै मद्धत पुग्ने गरी आदेश आएको छ ।

लेखा समितिले यही विषयमा गरेको छानबिनका क्रममा महसुल नउठाउनुमा नेपाल विद्युत प्राधिकरणको वर्तमान नेतृत्वलाई पनि दोषी देखाइएको छ नि !

यो प्रसंग मेरो पालामा आएको होइन । पहिलादेखि नै भएको हो । यसमा मेरो कुनै दोष छैन ।

१९ घण्टाको लोडसेडिङ यहाँ विद्युत प्राधिकरणको नेतृत्वमा आएपछि हट्यो । खासमा यो कसरी सम्भव भएको हो ?

यो कुनै चामत्कारिक विषय होइन । इमान्दारीपूर्वक व्यवस्थापन गरिएको मात्रै हो । विद्युत प्राधिकरणका १२ हजार कर्मचारी यसका लागि खट्नुभएको छ । हामी पहिला धेरै खपत नगर्नुस् भन्ने अवस्थामा थियौं भने अहिले खपत गरौं भन्ने अवस्थामा पुगेका छौं ।

हामीले गर्नुपर्ने कामको दायित्व मात्रै निर्वाह गरेका हौं । यसको व्यवस्थापन गरेका हौं । यस क्रममा कतिपय चुनौती पनि सामना गर्नुपरेको छ । तर, हामीले अप्ठेरो हुँदाहुँदै पनि त्यसलाई सकारात्मक मोडमा ल्याएका छौं । म आउँदासम्म करिब ९ अर्ब रुपैयाँ घाटा रहेकोमा अहिले हामीले ७ अर्ब नाफा गरिरहेका छौँ ।
यसका लागि सर्वसाधारणको पनि उत्तिकै साथ र सहयोग पाइएको छ।

अब चाहिँ हामीकहाँ लोडसेडिङ हुँदैन होइन त ?

हुँदैन, हुँदैन । तर, आगामी वर्षहरुमा हामीले त्यसैखालको वितरण प्रणाली विकास गर्नुपर्छ । नत्र उत्पादन भएको बिजुली नै खेर जान सक्ने अवस्था पनि अउन सक्छ ।

तपाईंको कार्यकाल चाहिँ अब कति बाँकी छ ?
साढे ८ महिना बाँकी छ । ३ वर्ष ४ महिना काम गरिसकेको छु ।

तीनवर्षमा काठमाडौंका सबै तार ‘अन्डरग्राउन्ड’ भइसक्छ

 
 
  
 

You may also like